शाओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन श्रृंखला रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ । यस सिरिजअन्तर्गत रेड्मी नोट १५ प्रो+ ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी गरी चार मोडेल बजारमा ल्याइएका छन्, जसले विभिन्न वर्गका प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने कम्पनीले जनाएको छ ।
यस सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जी मा ६,५०० एमएएच सिलीकोन–कार्बन ब्याट्री प्रयोग गरिएको छ, जसमा १०० वाट हाइपरचार्ज प्रविधि रहेको छ । यसले करिब ४० मिनेटमै फोन पूर्ण चार्ज हुने बताइएको छ । साथै २२.५ वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ । फोनमा ६.८३ इन्चको १.५के एमोलेड डिस्प्ले, ३,२०० निट्स पिक ब्राइटनेस, डुअल स्पिकर र शाओमी आइसलुप कूलिङ सिस्टम समावेश गरिएको छ । प्रो मोडेलहरूले आईपी६६, आईपी६८, आईपी६९ र आईपी६९के प्रमाणीकरण तथा २.५ मिटर ड्रप प्रतिरोधका लागि एसजीएस प्रमाणन प्राप्त गरेका छन् ।
रेड्मी नोट १५ प्रो ५जी मा मिडियाटेक डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर, २०० मेगापिक्सेल क्यामेरा, ६,५८० एमएएच ब्याट्री र ४५ वाट चार्जिङ सुविधा दिइएको छ । साथै एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन र एआई रिफ्लेक्सन रिमुभजस्ता एआई टुलहरू उपलब्ध छन् ।
त्यस्तै रेड्मी नोट १५ ५जी सिरिजकै सबैभन्दा पातलो मोडेल हो, जसको मोटाइ ७.३५ मिलिमिटर रहेको छ । यसमा ५,५२० एमएएच ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, स्न्यापड्रागन ६ जेन ३ प्रोसेसर र ४५ वाट चार्जिङ सुविधा समावेश गरिएको छ । रेड्मी नोट १५ ४जी मोडेलमा भने ६,००० एमएएच ब्याट्री, १०८ मेगापिक्सेल क्यामेरा, १२० हर्ट्ज रिफ्रेस रेट भएको एमोलेड डिस्प्ले, आईपी६४ सुरक्षा र ३३ वाट चार्जिङ सुविधा दिइएको छ ।
शाओमीले रेड्मी नोट १५ सिरिजको लन्च अवसरमा २०२६ जनवरी १९ देखि फेब्रुअरी १४ सम्म विशेष प्रवर्द्धनात्मक अफर सार्वजनिक गरेको छ । यस अवधिमा शाओमी बड्स बन्डल अफर तथा सबै मोडेलमा ९ महिना ० प्रतिशत ईएमआई सुविधा उपलब्ध हुनेछ । रेड्मी नोट १५ सिरिज नेपालभर टेलिडाइरेक्ट प्रा.लि. र वत्सल इम्पेक्स प्रा.लि.को आधिकारिक डिलर नेटवर्कमार्फत बिक्रीमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
रेड्मी नोट १५ प्रो+ ५जी को मूल्य ८ जीबी + २५६ जीबी भेरियन्टका लागि ५९,९९९ रुपैयाँ र १२ जीबी + ५१२ जीबी भेरियन्टका लागि ६६,९९९ रुपैयाँ तोकिएको छ । रेड्मी नोट १५ प्रो ५जी को मूल्य क्रमशः ४९,९९९ र ५६,९९९ रुपैयाँ रहेको छ । त्यस्तै रेड्मी नोट १५ ५जी को मूल्य ३९,९९९ देखि ४६,९९९ रुपैयाँसम्म र रेड्मी नोट १५ ४जी को मूल्य २९,९९९ देखि ३५,९९९ रुपैयाँसम्म निर्धारण गरिएको छ ।

Online Arthik










