‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आज आफ्नो स्थापना भएको २५ वर्ष पूरा गर्दै रजत महोत्सव मनाएको छ। विसं २०५७ माघ ९ गते तत्कालीन विषम परिस्थितिमा देशमा शान्ति, सुरक्षा कायम राख्दै जनताको जीउ, धन र स्वतन्त्रताको रक्षा गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपालको विधिवत् स्थापना गरिएको थियो।
तत्कालीन गृहसचिव खेमराज रेग्मीको संयोजकत्वमा गठित ‘सशस्त्र प्रहरी सेवा गठन सुझाव कार्यदल–२०५६’ को सिफारिसका आधारमा त्यसबेलाका राजा वीरेन्द्र शाहबाट ‘सशस्त्र प्रहरी अध्यादेश, २०५७’ जारी भएसँगै आजकै दिन सशस्त्र प्रहरी बल गठन भएको हो।
रजत महोत्सवको अवसरमा आज सशस्त्र प्रहरी मुख्यालय, हलचोकमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गरिएको छ। सशस्त्र प्रहरी बलको स्थापना कालमा नेपाली सेना र नेपाल प्रहरीबाट जनशक्ति स्थानान्तरण गरी संगठन निर्माण गरिएको थियो। प्रारम्भमा महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको परिसरमा प्रधान कार्यालय स्थापना गरिएको थियो।
सशस्त्र प्रहरी बलका प्रथम महानिरीक्षक कृष्ण मोहन श्रेष्ठ नियुक्त भएका थिए। संस्थापक महानिरीक्षक श्रेष्ठले विसं २०५९ माघ १२ गते प्रातकालीन भ्रमणका क्रममा गोली प्रहारबाट वीरगति प्राप्त गरेका थिए। उक्त घटनामा उनकी धर्मपत्नी तथा सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष नुडुप श्रेष्ठ र अङ्गरक्षक सूर्यप्रसाद रेग्मीले पनि सहादत प्राप्त गरेका थिए।
तत्कालीन सरकारले सशस्त्र प्रहरी बललाई सशस्त्र द्वन्द्व, विद्रोह, पृथकतावादी तथा आतङ्ककारी गतिविधि नियन्त्रणलगायत १३ वटा कार्यादेश प्रदान गरेको थियो। पछिल्ला वर्षहरूमा राजस्व, भन्सार, औद्योगिक तथा रेल्वे सुरक्षा जस्ता अतिरिक्त जिम्मेवारीहरू पनि थपिँदै आएका छन्।
सशस्त्र प्रहरीका सहप्रवक्ता तथा नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार २५ वर्षे यात्रामा संगठनले राज्यप्रदत्त जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्दै संरचनागत विस्तार, तालिम, जनशक्ति विकास र फौजी अनुशासनमा विशेष जोड दिएको छ। हाल सशस्त्र प्रहरी बल सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहायता र विपद् व्यवस्थापनमा भरपर्दो सुरक्षा निकायका रूपमा स्थापित भएको छ।
विसं २०६१ मङ्सिर १ गतेको निर्णयअनुसार प्रमुख भन्सार नाकाहरूको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको थियो भने विसं २०६३ फागुन ८ गतेदेखि डेडिकेटेड रूपमा सीमा सुरक्षाको जिम्मेवारी प्राप्त गरेको हो। हाल सशस्त्र प्रहरीले सातवटा रिजर्भ गण, ४५ वटा सीमा सुरक्षा कार्यालय र २१५ वटा बीओपीमार्फत सीमा सुरक्षा गर्दै आएको छ।
सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गरिएको छ, जसअन्तर्गत सरसफाइ, बाटोघाटो स्तरोन्नति, विकास निर्माणमा सहयोग, स्वास्थ्य शिविर, सचेतनामूलक कार्यक्रम तथा सीपमूलक तालिम सञ्चालन हुँदै आएका छन्।
त्यस्तै, सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा पनि आफूलाई अब्बल सुरक्षा फौजका रूपमा स्थापित गरेको छ। यसका लागि विसं २०६८ मङ्सिर २२ गते चितवनको कुरिनटारमा विपद् व्यवस्थापन तालिम शिक्षालय तथा मनाङमा पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना गरी उद्धारका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ।

Online Arthik










