माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा १ अर्ब रुपैयाँ नाघेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार समीक्षा अवधिसम्म बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.२५ प्रतिशतले बढी हो । गत आवको दोस्रो त्रैमाससम्म बैंकले ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।यस्तै, बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९४ करोड १० लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको तुलनामा ४.१५ प्रतिशतले वृद्धि हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ८२ करोड ३६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिसम्म बैंकको खुद सञ्चालन आम्दानी ३ अर्ब ४५ करोड रुपैयाँ र सञ्चालन मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा ९३ करोड ६३ लाख रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङ घटेर ४३ करोड ६३ लाख रुपैयाँमा सीमित भएको छ । यद्यपि, बैंकको रिजर्भ भने ६ अर्ब ३१ करोड रुपैयाँबाट बढेर ६ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।बैंकको निक्षेप संकलन १ खर्ब ८४ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ४१ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकको खराब कर्जा अनुपात ४.५४ प्रतिशतबाट घटेर ४.२५ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ६३ लाख रुपैयाँ रहेको छ भने वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ७.२२ रुपैयाँ कायम भएको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १३.३६ रुपैयाँबाट बढेर १६.७३ रुपैयाँ पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ १६१.६ रुपैयाँ, तरलता अनुपात ३१.८७ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल ०.८५ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया