पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले उक्त आईपीओ गत पुस २५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको थियो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते कुल ७५ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।जसअनुसार पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय बासिन्दाका लागि जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँबराबरको १८ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरी बिक्री वितरण गरिँदैछ ।यसका साथै बाँकी १५ प्रतिशत अर्थात ५६ करोड २५ लाख रुपैयाँबराबरको ५६ लाख २५ हजार कित्ता साधारण सेयर सार्वजनिक निष्कासनका लागि छुट्याइएको छ ।
उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरूले नबिल बैंकको तानसेन, बर्दघाट, बुलिबटार र गैडाकोट शाखा, प्रभु बैंकको पाल्पा, बर्दघाट, परासी र बेलतारी शाखा तथा सिद्धार्थ बैंकको पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने जनाएको छ ।

Online Arthik










