काठमाडौं उपत्यकामा मतदाता संख्या ११ लाख ८५ हजार ३७४ पुगेको छ । निर्वाचन आयोगका अनुसार काठमाडौं जिल्लामा ७ लाख १० हजार ७०८, ललितपुरमा २ लाख ६९ हजार २५६ र भक्तपुरमा २ लाख ५ हजार ४१० जना मतदाता रहेका छन् ।यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनको तुलनामा काठमाडौंमा ५४ हजार ७१०, ललितपुरमा २५ हजार ३७२ र भक्तपुरमा १० हजार ९७१ जना मतदाता थपिएका हुन् । अघिल्लो निर्वाचनमा काठमाडौंमा ६ लाख ५३ हजार ९९८, ललितपुरमा २ लाख ४३ हजार ८८४ र भक्तपुरमा १ लाख ९४ हजार ४३९ मतदाता रहेका थिए ।
लैंगिक आधारमा हेर्दा काठमाडौंमा ३ लाख ४४ हजार १९९ पुरुष, ३ लाख ६६ हजार ५०७ महिला र ७ जना अन्य मतदाता छन् । ललितपुरमा महिला मतदाता १ लाख ३७ हजार ७०७ र पुरुष १ लाख ३१ हजार ५४९ रहेका छन् । भक्तपुरमा भने ४८ हजार ७४ पुरुष, ५० हजार २७७ महिला र ५ जना अन्य मतदाता रहेको आयोगले जनाएको छ ।मतदान स्थल र मतदान केन्द्रको संख्या पनि बढाइएको छ । काठमाडौंमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र रहेका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि ५० वटा मतदान केन्द्र थप गरिएको काठमाडौं जिल्ला निर्वाचन कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईले जानकारी दिए । यसअघि काठमाडौंमा ७७६ मतदान केन्द्र थिए ।
ललितपुरमा १३१ मतदान स्थल र ३१८ मतदान केन्द्र कायम गरिएको छ । यसपटक २८ वटा मतदान केन्द्र थप गरिएको ललितपुर जिल्ला निर्वाचन कार्यालयकी प्रमुख गोमा धमला घिमिरेले बताइन् । भक्तपुरमा ७६ मतदान स्थल र २३३ मतदान केन्द्र रहेका छन् भने ११ वटा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश मगरले जानकारी दिए ।निर्वाचन आयोगका अनुसार देशभर फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गरेका मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको छ । जसमा ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० जना अन्य मतदाता छन् ।
यस वर्ष आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

Online Arthik










