गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानीसँगै खुद नाफामा समेत उल्लेख्य सुधार आएको छ। संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म २ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशतले बढी हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
संस्थाको खुद ब्याज आम्दानीमा पनि उल्लेख्य वृद्धि देखिएको छ। दोस्रो त्रैमाससम्म संस्थाले ८ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५५.१८ प्रतिशतले बढी हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी ५ करोड ६४ लाख रुपैयाँ रहेको थियो।समीक्षा अवधिसम्म संस्थाले ३ करोड ७० लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यस्तै, खुद शुल्क तथा कमिशन आम्दानी ६ लाख १० हजार रुपैयाँ रहेको छ।संस्थाको रिजर्भको आकार १६.५५ प्रतिशतले बढेर ५ करोड १२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म संस्थाको निक्षेप संकलन ५४ करोड ४५ लाख रुपैयाँ र कर्जा प्रवाह २ अर्ब १० करोड रुपैयाँ पुगेको छ। दोस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा १ करोड ९५ लाख रुपैयाँ रहेको छ।
यद्यपि, संस्थाको खराब कर्जा अनुपातमा केही वृद्धि भएको छ। अघिल्लो आवको दोस्रो त्रैमाससम्म २.७८ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा बढेर ३.१३ प्रतिशत पुगेको छ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ४०.२२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.३३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७३८.७६ रुपैयाँ, मूल्य–आम्दानी अनुपात (P/E Ratio) ४७.९८ गुणा तथा तरलता अनुपात ८.७० प्रतिशत रहेको छ।

Online Arthik










