काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग सम्झौता गरी भुक्तानीसम्बन्धी कारोबारलाई स्वचालित बनाउँदै डिजिटल माध्यमबाट भुक्तानी संकलन तथा वितरण सेवा सुरु गरेको छ।
यससम्बन्धी सम्झौतापत्रमा केयूकेएलका कार्यकारी निर्देशक अशोककुमार पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। सम्झौतापछि केयूकेएलको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग एकीकृत गरिएको छ। यसमार्फत केयूकेएलले आईपीएस तथा आरपीएस चेक प्रणाली प्रयोग गरी तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषलगायत विभिन्न प्रकारका भुक्तानी कारोबार सञ्चालन गर्न सक्नेछ। यी सबै भुक्तानी केयूकेएलको बैंक खाताबाट सिधै लाभग्राही तथा ग्राहकको खातामा जम्मा हुने व्यवस्था गरिएको छ।केयूकेएलले आगामी दिनमा अन्य डिजिटल भुक्तानी सेवाहरू पनि क्रमिक रूपमा लागू गर्ने योजना रहेको जनाएको छ। एनसीएचएलका भुक्तानी प्रणालीहरूलाई एकीकृत इन्टरफेसका रूपमा ओपन एपीआई अवधारणामा विकास गरिएको एनपीआईमा हाल ५३ वटा बैंक तथा वित्तीय संस्था आबद्ध छन्। साथै, भुक्तानी सेवा प्रदायक, रेमिटेन्स कम्पनी, लघुवित्त, मर्चेन्ट बैंक तथा सरकारी तथा अर्धसरकारी संस्थासहित ११० भन्दा बढी गैर–बैंकिङ संस्थाहरू इन्डाइरेक्ट तथा प्राविधिक सदस्यका रूपमा आबद्ध छन्। यस प्रणालीमार्फत सदस्य संस्थाहरूले आईपीएस तथा चेक क्लियरिङ सेवाको प्रयोग गर्न सक्नेछन्।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपत्यकाभित्र खानेपानी तथा ढल व्यवस्थापन सेवाको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पाएको छ। सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यसहित संस्थाले डिजिटाइजेशन अभियानलाई तीव्रता दिँदै बिलिङ तथा भुक्तानी प्रक्रिया पूर्ण रूपमा स्वचालित बनाउने पहल थालेको जनाएको छ।

Online Arthik










