नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कोषले ६६ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.९२ प्रतिशतले बढी हो। अघिल्लो आवको दोस्रो त्रैमाससम्म कोषको खुद नाफा ६२ करोड २२ लाख रुपैयाँ थियो।
यस अवधिमा कोषको कुल आम्दानी १ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आवको तुलनामा २.८६ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा कोषले १ अर्ब ३ करोड रुपैयाँ कुल आम्दानी गरेको थियो। कोषको कुल खर्च भने घटेको छ। अघिल्लो आवमा २० करोड ८६ लाख रुपैयाँ रहेको कुल खर्च चालु आवको दोस्रो त्रैमाससम्म घटेर १८ करोड १८ लाख रुपैयाँमा सीमित भएको छ। कोषले कुल २ खर्ब ९८ अर्ब रुपैयाँ बराबरको लगानी गरेको छ। जसअन्तर्गत मुद्धती निक्षेपमा १ खर्ब ४५ अर्ब, नेपाल सरकारको ऋणपत्रमा १ अर्ब ३१ करोड, समयकालीन कर्जामा २६ अर्ब ३१ करोड, संगठित संस्थाको सेयरमा ३१ अर्ब ६८ करोड तथा सहायक कम्पनीमा २ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको छ। कोषको जगेडा कोष १२ अर्ब २८ करोड रुपैयाँ बराबर रहेको छ।
समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी १९.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४२.४० रुपैयाँ तथा लगानी प्रतिफल ४.४९ प्रतिशत कायम भएको छ।

Online Arthik










