आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उल्लेखनीय वित्तीय सुधार गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ४ करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ करोड ८६ लाख रुपैयाँको तुलनामा १४७.९३ प्रतिशतले बढी हो। यस अवधिमा विद्युत बिक्री आम्दानी बढेर १३ करोड ४४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको ९ करोड २१ लाख रुपैयाँको तुलनामा ४५.९७ प्रतिशतले वृद्धि हो। साथै, कम्पनीको वित्त आम्दानी २८ लाख ८२ हजारबाट बढेर ८९ लाख ४७ हजार रुपैयाँ पुगेको छ भने वित्तीय खर्च ४ करोड ६८ लाखबाट घटेर ३ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ। प्रशासनिक तथा साधारण खर्च पनि ७७ लाख ३८ हजारबाट घटेर ३५ लाख ३६ हजार रुपैयाँमा झरेको छ, यद्यपि साधारण तथा वितरण खर्च भने १ करोड ८१ लाखबाट बढेर २ करोड १४ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्म कम्पनीको कुल चालु सम्पत्ति ७१ करोड ६३ लाख रुपैयाँ र कुल चालु दायित्व १२ करोड ४० लाख रुपैयाँ रहेको छ। यस आधारमा कम्पनीको प्रतिसेयर आम्दानी ४.६३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ४४ गुणा तथा तरलता अनुपात ५.७८ प्रतिशत कायम भएको छ।

Online Arthik










