सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार देखाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ५३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२३ प्रतिशतले बढी हो।

नाफामा आएको तीव्र वृद्धिले कम्पनीको सञ्चालन दक्षता र आम्दानी संरचनामा सुधार भएको संकेत गरेको छ। समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ८ करोड रुपैयाँको बिक्री गरेको छ, जुन गत वर्षको तुलनामा २.५२ प्रतिशतले बढी हो। साथै, अन्य आम्दानी पनि ७ करोड १८ लाख रुपैयाँबाट बढेर ११ करोड ९७ लाख रुपैयाँ पुगेको छ, जसले नाफा वृद्धिमा थप सहयोग पुर्‍याएको छ।

यता, कम्पनीको कुल खर्च ५२ करोड ६७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ४१ करोड ७६ लाख रुपैयाँभन्दा बढी हो। खर्च वृद्धि भए पनि आम्दानी र नाफाको उच्च वृद्धिदरले व्यवस्थापन पक्ष प्रभावकारी रहेको देखाउँछ।

५ अर्ब २२ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब ४७ करोड रुपैयाँ र कुल चालु दायित्व ५ अर्ब ७ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०.६१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८८.९२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९९.४३ रुपैयाँ तथा तरलता अनुपात १.०८ कायम भएको छ।

तपाईको प्रतिक्रिया