जयश्री फुड्स प्रालि ले सन् २०२५ मा ३ अर्ब ८९ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.७६ प्रतिशत अर्थात् करिब ७ करोड रुपैयाँले कम हो । सन् २०२४ मा कम्पनीको आम्दानी ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँ रहेको थियो । भान्साघर र मंगलम ब्रान्डअन्तर्गत चामल उत्पादन तथा बिक्री गर्दै आएको कम्पनीले नवलपरासीको गैँडाकोटस्थित उद्योगमार्फत धान प्रशोधन गरी चामल, चिउरा तथा सोया नगेट्स उत्पादन गर्दै आएको छ । लामो दाना, जिरा र सावा चामलसहित विभिन्न प्रकारका चामल स्वदेशी बजारमा उपलब्ध गराउँदै आएको कम्पनीका दुवै ब्रान्डले राम्रो बजार पहिचान बनाइसकेका छन् । उत्पादन क्षमता उपयोग, ब्रान्ड सुदृढीकरण र बजार विस्तारमा निरन्तर ध्यान दिइएकाले पछिल्ला वर्षहरूमा कारोबार स्थिर रूपमा अघि बढिरहेको कम्पनीको भनाइ छ । सञ्चालन आम्दानीको इतिहासअनुसार कम्पनीले सन् २०२३ मा ३ अर्ब ५८ करोड ८० लाख, सन् २०२२ मा २ अर्ब ९८ करोड ९० लाख, सन् २०२१ मा २ अर्ब ८२ करोड ५० लाख, सन् २०२० मा २ अर्ब ६४ करोड ८० लाख, सन् २०१९ मा २ अर्ब २४ करोड ४० लाख, सन् २०१८ मा १ अर्ब ९१ करोड ३० लाख र सन् २०१७ मा १ अर्ब ३२ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । सन् २००९ मा स्थापना भएको कम्पनीले नेपालभर ६ सयभन्दा बढी खुद्रा व्यवसायीमार्फत उत्पादन वितरण गर्दै आएको छ भने नेपालगञ्ज, भैरहवा, गैँडाकोट, वीरगञ्ज र विराटनगरमा कार्यालय तथा भण्डारण गोदाम सञ्चालन गर्दै आएको छ । भारत–नेपाल सीमासँग नजिकै प्रशोधन इकाइ रहेकाले ढुवानी लागत कम हुने लाभ लिँदै आएको कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल १ अर्ब रुपैयाँ कर्जा लिएको जनाएको छ, जसमा १५ करोड ७० लाख रुपैयाँ दीर्घकालीन र ८४ करोड ३० लाख रुपैयाँ अल्पकालीन कर्जा रहेका छन् ।

तपाईको प्रतिक्रिया