नेपाल सरकार ले आर्थिक वर्ष २०८२/८३ का लागि प्रारम्भमा करिब रु १,९६४ अर्बको बजेट विनियोजन गरेको थियो, जसबाट विकास र पूर्वाधार निर्माणमा तीव्रता आउने अपेक्षा गरिएको थियो। तर अर्धवार्षिक समीक्षापछि सरकारले खर्च र राजस्व दुवै अनुमान घटाउँदै कुल बजेट आकार करिब १४.०६ प्रतिशत (रु २७६ अर्ब) ले कटौती गरी रु १,६८८ अर्बमा सीमित गरेको छ। राजस्व संकलन कमजोर हुनु, वैदेशिक सहायता ढिलाइ हुनु तथा पुँजीगत खर्च सुस्त रहनु जस्ता कारणले यस्तो समायोजन गरिएको जनाइएको छ।
समीक्षा प्रतिवेदनले राजस्व लक्ष्य पूरा नहुनु र विकास खर्चको न्यून प्रदर्शनलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ। चालु आवको पहिलो सात महिनामा कुल बजेटको करिब ४०.८ प्रतिशत मात्र खर्च भएको छ, जबकि समय ५८.३३ प्रतिशत बितिसकेको छ। अझै चिन्ताजनक पक्ष पुँजीगत खर्चको अवस्था हो, जहाँ माघ मसान्तसम्म मात्र करिब १५.६२ प्रतिशत खर्च भएको छ। यसको तुलनामा चालु खर्च भने करिब ४७.६२ प्रतिशत पुगेको छ। यसले विकासमा विनियोजित स्रोत अपेक्षित गतिमा उपयोग हुन नसकेको र प्रशासनिक तथा सामाजिक खर्च तुलनात्मक रूपमा उच्च दरमा बढिरहेको संकेत गर्दछ।
राजनीतिक परिवर्तन, नयाँ सरकार गठन र निर्वाचनसम्बन्धी खर्चका कारण बजेट पुनःप्राथमिकिकरण गरिएको र कम प्राथमिकताका योजनामा रोक लगाइएको जनाइएको छ। यसले विकास खर्चलाई थप कमजोर बनाएको देखिन्छ। सरकारले चालु वर्षका लागि ६ प्रतिशत आर्थिक वृद्धिदर लक्ष्य राखे पनि मध्यम समीक्षा पश्चात् वृद्धि दर करिब ३.५ प्रतिशतमा सीमित हुन सक्ने अनुमान सार्वजनिक भएको छ, जुन अर्थतन्त्रका लागि चिन्ताको विषय मानिएको छ।
विकास खर्चको न्यून उपयोगले पूर्वाधार निर्माण, ऊर्जा, सडक तथा जलसम्बन्धी परियोजनामा ढिलाइ ल्याउँछ र रोजगारी सृजनामा प्रत्यक्ष असर पार्छ। सार्वजनिक लगानी कमजोर हुँदा निजी क्षेत्रको लगानी उत्साह पनि घट्न सक्छ, जसले समग्र आर्थिक गतिविधिमा सुस्ती ल्याउने सम्भावना रहन्छ। यद्यपि अर्धवार्षिक समीक्षा वित्तीय अनुशासन र यथार्थपरक बजेट निर्माणतर्फको प्रयासका रूपमा हेरिएको छ, तर विकास खर्चमा सुधार नगरे दीर्घकालीन उत्पादन क्षमता र आर्थिक स्थायित्वमा नकारात्मक असर पर्ने जोखिम रहेको विश्लेषकहरूको भनाइ छ। सरकारले राजस्व संकलन क्षमता वृद्धि, परियोजना कार्यसम्पादन सुधार तथा प्राथमिकतायुक्त पुँजीगत योजनामा तीव्रता दिन सके मात्र अर्थतन्त्रमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।

Online Arthik










