जावलाखेल डिस्टिलरी ले ‘रुस्लान’ ब्रान्डअन्तर्गत नयाँ अल्कोहोलिक पेय सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नेपाली अल्कोहोल पेय बजारमा पहिलो पटक ‘पिच आइस टी’ स्वादमा यो उत्पादन ल्याइएको हो।
‘रुस्लान’ को पहिलो संस्करण ५ प्रतिशत अल्कोहोल मात्रा (एबीभी) सहित तयार गरिएको छ, जसलाई विशेषगरी फरक सोच र नयाँ अनुभव खोज्ने युवापुस्तालाई लक्षित गरिएको कम्पनीले जनाएको छ। आजका अभिव्यक्तिशील र अनुभव–केन्द्रित युवालाई ध्यानमा राख्दै तयार गरिएको यस पेयले मौलिकता, व्यक्तित्व र आत्मविश्वासलाई प्रतिनिधित्व गर्ने दाबी गरिएको छ। ट्रेन्ड पछ्याउनेभन्दा आफ्नै शैली स्थापित गर्न चाहने पुस्तालाई प्रेरित गर्ने उद्देश्य रहेको उल्लेख छ।
विश्वव्यापी रूपमा लोकप्रिय सफ्ट पेय स्वादमध्ये पर्ने ‘पिच आइस टी’ लाई अल्कोहोलिक स्वरूपमा रूपान्तरण गर्दै आधुनिक र सहज रूपमा पिउन मिल्ने पेयका रूपमा प्रस्तुत गरिएको कम्पनीको भनाइ छ। सन्तुलित ५ प्रतिशत अल्कोहोल मात्रामार्फत परिचित स्वादलाई नयाँ अनुभवमा रूपान्तरण गर्ने प्रयास गरिएको बताइएको छ। कम्पनीका अनुसार ‘रुस्लान’ ले नेपालमा आरटीडी (रेडी–टु–ड्रिंक) पेयको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ। यसलाई नयाँ पुस्ताको बदलिँदो जीवनशैली र सामाजिक संस्कृतिसँग जोडिएको ब्रान्डका रूपमा अघि बढाउने योजना बनाइएको छ। २ सय ७५ मिलिलिटरको आकर्षक क्यानमा उपलब्ध यो पेय हाल काठमाडौंका केही चुनिएका पसलहरूमा प्रतिक्यान २ सय २५ रुपैयाँमा बिक्री भइरहेको छ।

Online Arthik









