युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले आधारभूत सेयरधनीहरूलाई आफ्नो हकप्रद सेयरबापतको रकम समयमै जम्मा गर्न आग्रह गरेको छ। कम्पनीले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रतिसेयर १०० रुपैयाँका दरले हुन आउने रकम बुझाउन अनुरोध गरेको हो।
हकप्रद सेयरबापतको रकम लक्ष्मी सनराइज बैंक लिमिटेड मा रहेको कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ। तोकिएको समयसीमाभित्र रकम नबुझाए कानुनी प्रावधानअनुसार आवश्यक प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।
कम्पनीले हाल कायम २ अर्ब ३१ करोड रुपैयाँ चुक्तापुँजीको १० प्रतिशत अर्थात १००ः१० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ लाख १० हजार कित्ता सेयर जारी गरिनेछ। कम्पनीले गत माघ २७ गते नेपाल धितोपत्र बोर्ड बाट हकप्रद निष्कासनको स्वीकृति प्राप्त गरिसकेको छ। हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

Online Arthik









