सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) ले ‘धितोपत्र अभौतिक सञ्चालन निर्देशिका, २०८२’ सार्वजनिक गरेको छ। ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा आयोजित कार्यक्रममा उक्त निर्देशिका सार्वजनिक गरिएको हो। सीडीएससीका अनुसार हाल संस्थापक र सर्वसाधारण सेयर फरक–फरक अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (ISIN) मा रहेकाले डेटा मिलान, अभिलेख व्यवस्थापन तथा कानुनी प्रक्रियामा जटिलता देखिँदै आएको छ।

प्रस्तावित निर्देशिकामा आवश्यक प्रक्रिया पूरा गरी संस्थापक र सर्वसाधारण सेयरलाई एउटै ISIN मा मर्ज गर्न सकिने स्पष्ट व्यवस्था गरिएको छ। यस्तो मर्ज प्रक्रियामा लगानीकर्ताबाट कुनै अतिरिक्त शुल्क नलाग्ने सीडीएससीले जनाएको छ। साथै, संस्थापक सेयरलाई ‘लक–इन अवधि’भित्र सर्वसाधारण सेयरभन्दा फरक ISIN प्रदान गरिने र लक–इन अवधि समाप्तिपश्चात आवश्यक प्रक्रिया पूरा गरी एउटै ISIN मा मिसाउन सकिने प्रावधान राखिएको छ।

निर्देशिका स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डसमक्ष पेश गरिएको जनाउँदै सीडीएससीले बोर्डको स्वीकृतिपछि मात्र कार्यान्वयनमा आउने स्पष्ट पारेको छ। संस्थापक सेयरलाई सर्वसाधारणमा रूपान्तरण गर्नुअघि सम्बन्धित कम्पनीको वार्षिक साधारण सभाबाट प्रस्ताव पारित गराई सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

सीडीएससीले पूँजी बजारमा तथ्यांक एकरूपता, विश्वसनीयता तथा पारदर्शिता कायम गर्दै लगानीकर्ताको कानुनी तथा आर्थिक अधिकार संरक्षण गर्न र समग्र आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले निर्देशिका ल्याएको जनाएको छ। कार्यक्रममा नेपाल सरकार अर्थ मन्त्रालयका प्रतिनिधि, नेपाल धितोपत्र बोर्डका पदाधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रतिनिधि तथा विभिन्न संघ–संस्था र लगानीकर्ताहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया