एशियन लाइफ इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा बाराको सिमरास्थित होटल क्लासिक प्लाजामा सोमबार सम्पन्न भएको छ। सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा पूर्वनिर्धारित एजेण्डामाथि छलफल गरी अनुमोदन गरिएको हो।
सभाले आर्थिक वर्ष २०८१/०८२ सम्मको संचित नाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ, जसमा ५ प्रतिशत बोनस सेयर समावेश छ। प्रस्तावअनुसार चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने २५ करोड ५७ हजार ९६० रुपैयाँ ३५ पैसा बराबरको बोनस सेयर वितरण गरिनेछ।
त्यस्तै, ५.५२६३ प्रतिशत (लाभांशमा लाग्ने करसमेत) ले हुन आउने २७ करोड ६३ लाख ७९ हजार ८५० रुपैयाँ ९१ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ। यसैगरी, गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमाथि छलफलसहित पारित गरिएको छ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि स्वीकृत भएको छ।
साधारण सभाको निर्णय कार्यान्वयनका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न र सम्बन्धित निकायबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावसमेत पारित गरिएको कम्पनीले जनाएको छ।

Online Arthik










