Election Commission of Nepal ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार फागुन १८ गते राति १२ बजेदेखि पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ। निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि Ministry of Home Affairs मार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइने आयोगले जनाएको छ।

आयोगका अनुसार जिल्ला आचारसंहिता अनुगमन समितिमार्फत तोकिएका संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०८२ को दफा १७ र १८ बमोजिम निषेधित गतिविधि हुन नदिने व्यवस्था मिलाइनेछ। आचारसंहिता उल्लङ्घन भएमा प्रचलित कानुनअनुसार तत्काल कारबाही गरिने चेतावनी आयोगले दिएको छ।

मतदानको दिन अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाइनेछ। एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकाय, विद्युत्, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मत, कूटनीतिक नियोगका सवारीसाधन तथा निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारीसाधनलाई भने सञ्चालन अनुमति दिइनेछ।

यसैगरी, मतदान मितिभन्दा सात दिनअघिदेखि अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाइने निर्णय पनि गरिएको छ। निर्वाचन अवधिमा मदिरा सेवन गरी मतदातालाई प्रभावित पार्ने गतिविधि रोक्न यस्तो कदम चालिएको आयोगको भनाइ छ। निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट यी निर्णय गरिएको जनाउँदै आयोगले आवश्यक समन्वयका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको छ। मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडान भने यथावत् सञ्चालन हुने व्यवस्था मिलाइनेछ। टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर वा होटलसम्म आवतजावत गर्न निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न अनुमति दिइनेछ।

साथै, सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी र मतदाताका लागि आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्न आयोगले सम्बन्धित निकायलाई अनुरोध गरेको छ। देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया