बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेड ले आगामी चैत १ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्ड बाट आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो।

जारी पूँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख रुपैयाँबराबरको १० लाख ४० हजार कित्ता सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दालाई ५ लाख २० हजार कित्ता (५० प्रतिशत), प्रभावित क्षेत्र वडा नं. ५, ६, ७ र ११ का बासिन्दालाई ३ लाख १२ हजार कित्ता (३० प्रतिशत) र न्यून प्रभावित क्षेत्रका अन्य सोलुखुम्बुवासीलाई २ लाख ८ हजार कित्ता (२० प्रतिशत) सेयर निष्कासन गरिनेछ। प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँड गरेपछि सर्वसाधारण समूहअन्तर्गतको १० लाख ४० हजार कित्तामध्ये १ लाख ४ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि प्रारम्भिक निष्कासन गरिनेछ। यदि प्रभावित क्षेत्र वा वैदेशिक रोजगारी समूहमा सेयर पूर्णरूपमा बिक्री नभएमा बाँकी सेयर सर्वसाधारणमा समायोजन गरी निष्कासन गरिने कम्पनीले जनाएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। कम्पनीलाई रेटिङ संस्था इक्रा नेपाल ले [ICRANP-IR] BB+ रेटिङ प्रदान गरेको छ, जसले समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

आयोजना प्रभावित क्षेत्रका लागि आईपीओ निष्कासन छिटोमा चैत १५ गते र ढिलोमा चैत ३० गते बन्द हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छिटोमा चैत ५ गते र ढिलोमा चैत १५ गते बन्द हुनेछ। प्रभावित क्षेत्रका बासिन्दाले एनएमबी बैंक लिमिटेड (सल्लेरी शाखा), लक्ष्मी सनराइज बैंक लिमिटेड (सल्लेरी शाखा), ग्लोबल आइएमई बैंक लिमिटेड (सोलुखुम्बु शाखा) र प्राइम कमर्सियल बैंक लिमिटेड (नेचा सल्यान शाखा) बाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा ‘मेरो सेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। पहिलो चरणपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया