राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्। झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उनले निर्वाचनमा कुल १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण पेश गरेका हुन्। विवरणअनुसार १५ दिनका लागि दुई वटा सवारी साधन भाडामा लिन इन्धनसहित २ लाख ९३ हजार ८ सय रुपैयाँ खर्च भएको उल्लेख छ भने पाँच पटकको हवाई यात्रामा ३५ हजार रुपैयाँ खर्च गरिएको छ। त्यस्तै मतदाता प्रशिक्षण कार्यक्रमको खाजा खर्च २८ हजार ९७० रुपैयाँ रहेको छ। वडास्तरीय प्रचार कार्यक्रममा ५ लाख ८० हजार, नमूना मतपत्र छपाइमा ४९ हजार ८५० रुपैयाँ, निर्वाचन कार्यालयमा दुई महिनाको पानी खर्च १ लाख २० हजार र स्टेशनरीमा २२ हजार ८२० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। यसैगरी झण्डा र ब्याचसहितका प्रचार सामग्री छपाइमा १ लाख ५७ हजार ४१ रुपैयाँ, ब्यानर तथा स्टिकरमा १ लाख १९ हजार ८०८ रुपैयाँ तथा मनोनयन दर्तामा १० हजार रुपैयाँ खर्च भएको जनाइएको छ। बालेनका निर्वाचन प्रतिनिधि नवीन भण्डारीको हस्ताक्षरमा बुझाइएको उक्त विवरणमा समग्र खर्च १४ लाख १७ हजार २८९ रुपैयाँ रहेको उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया