एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ। “आयकर ऐन २०५८” बमोजिम ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले बैंकले यस्तो अनुरोध गरेको हो। बैंकका ग्राहकहरूले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘प्यान अपडेट’ विकल्प प्रयोग गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन्। साथै ग्राहकहरूले आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत खातामा प्यान अद्यावधिक गर्न आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार निक्षेपकर्ताको ब्याज भुक्तानीबाट काटिएको करलाई E-TDS रेकर्डमा देखाउन प्यान अनिवार्य हुन्छ। प्यान अद्यावधिक भएपछि ग्राहकहरूको करकट्टीको विवरण सोही प्यानमा प्रविष्ट गरिनेछ र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्नेछ। यसले ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने र त्यस्ता प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको अन्त्य हुने बैंकको विश्वास छ। ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले करकट्टीको विवरणमा ब्याजकर दाखिला नभएको वा पछि कर समायोजन गर्नुपरेको अवस्थामा बैंक जिम्मेवार नहुने पनि जनाएको छ।
यसैगरी बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना समेत अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी सेवा https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘माई प्रोफाइल’मा गई ‘चेञ्ज इमेल’ विकल्प छनौट गरेर ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। साथै बैंकको नजिकको कुनै पनि शाखा कार्यालयमार्फत पनि ईमेल अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यसअघि प्यान उपलब्ध गराए पनि करकट्टीको विवरण समावेश नभएको वा ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा ग्राहकले बैंकको नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन सक्ने बैंकले जनाएको छ।

Online Arthik










