काठमाडौंको रविभवनस्थित चारतारे होटल क्राउन इम्पेरियलले सन् २०२५ मा व्यापारिक आम्दानीमा उल्लेखनीय वृद्धि गरेको छ। केयर रेटिङ नेपालका अनुसार होटलले सन् २०२५ मा कुल २४ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५०.३१ प्रतिशतले बढी हो। यसअघि होटलले सन् २०२४ मा १६ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने सन् २०२३ मा १२ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो। पछिल्ला तीन वर्षको तथ्यांकले होटलको व्यापार निरन्तर बढ्दो क्रममा रहेको देखाएको छ। औसत कोठा अकुपेन्सी दर बढ्नु तथा सेवा प्रयोग गर्ने ग्राहक संख्या वृद्धि हुनु व्यापार बढ्नुको मुख्य कारण रहेको रिपोर्टमा उल्लेख गरिएको छ।

आम्दानीसँगै होटलको सञ्चालन नाफा मार्जिनमा पनि उल्लेख्य सुधार देखिएको छ। सन् २०२४ मा ७.१२ प्रतिशत रहेको सञ्चालन नाफा मार्जिन सन् २०२५ मा बढेर १९.३३ प्रतिशत पुगेको छ। त्यस्तै ब्याज, कर तथा मूल्यह्रास अघिको सञ्चालन नाफा (पीबीआईएलटीडी) पनि उल्लेखनीय रूपमा बढेको छ। सन् २०२४ मा १ करोड १० लाख रुपैयाँ रहेको यस्तो नाफा सन् २०२५ मा बढेर ४ करोड ७० लाख रुपैयाँ पुगेको छ।

यद्यपि व्यापार र सञ्चालन नाफामा सुधार भए पनि कम्पनी अझै वित्तीय दबाबमा रहेको रिपोर्टमा उल्लेख छ। उच्च कर्जा र ब्याज खर्चका कारण कम्पनीले सन् २०२५ मा करिब ९ करोड ३० लाख रुपैयाँ नगद घाटा व्यहोरेको छ। कम्पनीको पूँजी संरचना अझै पनि कर्जा निर्भर देखिएको छ। सन् २०२५ को अन्त्यसम्म कम्पनीको ओभरअल गियरिङ रेसियो २.९२ गुणा रहेको छ, जुन अघिल्लो वर्ष २.९८ गुणा थियो।

त्यस्तै कम्पनीको ब्याज तिर्ने क्षमता पनि कमजोर देखिएको छ। ब्याज कभरेज रेसियो ०.३४ गुणा मात्रै रहेकाले कम्पनीको सञ्चालन आम्दानीले ब्याज खर्च समेत धान्न कठिन अवस्था देखिएको छ। लगातार नगद घाटा भइरहेकाले कम्पनीको कुल कर्जा र नगद आम्दानीबीचको अनुपात पनि नकारात्मक रहेको बताइएको छ।

होटल सञ्चालन गर्दै आएको अर्किड होल्डिङ्सको समग्र वित्तीय अवस्था अझै दबाबमा रहेको देखिएपछि केयर रेटिङ नेपालले कम्पनीका दीर्घकालीन बैंक कर्जाको क्रेडिट रेटिङ बी प्लसबाट घटाएर बी मा झारेको छ भने छोटो अवधिको कर्जाको रेटिङ एफोर यथावत् राखेको छ। एजेन्सीका अनुसार कम्पनीको कमजोर वित्तीय जोखिम प्रोफाइल, निरन्तर नगद घाटा तथा उच्च ब्याज लागतका कारण रेटिङ घटाइएको हो।

अर्किड होल्डिङ्सले सञ्चालन गर्दै आएको होटल क्राउन इम्पेरियल सन् २०१९ को अगस्टदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको हो। होटल सञ्चालनमा आएको केही समयमै नेपालमा कोरोना महामारी फैलिएकाले प्रारम्भिक वर्षहरूमा अपेक्षित आम्दानी गर्न नसकेको रिपोर्टमा उल्लेख छ। १४ तले संरचनामा बनेको होटलमा १३१ वटा कोठा रहेका छन्। यहाँ रेस्टुरेन्ट तथा बार सेवा, स्विमिङ पुल, कन्फरेन्स तथा बैंक्वेट हल, स्वास्थ्य सुविधा तथा सपिङ आर्केडजस्ता आधुनिक सुविधा उपलब्ध छन्। कम्पनीका प्रमुख प्रवर्द्धकमध्ये एशियन लाइफ इन्स्योरेन्सको ४३.१९ प्रतिशत शेयर स्वामित्व रहेको छ भने हाल होटलका प्रबन्ध निर्देशक सुधीरमान मास्के रहेका छन्। सन् २००७ मा स्थापना भएको अर्किड होल्डिङ्स सन् २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको हो र कम्पनीले ‘क्राउन इम्पेरियल’ ब्रान्डमार्फत होटल व्यवसाय सञ्चालन गर्दै आएको छ।

तपाईको प्रतिक्रिया