कालिन्चोक हाइड्रोपावर लिमिटेड ले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने अवधि लम्ब्याएको छ। कम्पनीले फागुन १३ गतेदेखि खुला गरेको आईपीओमा अब चैत १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ। मागभन्दा बढी आवेदन परेमा सोभन्दा अगावै कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। उक्त सेयर खरिदका लागि दोलखा जिल्ला अन्तर्गत बिगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै कालिन्चोक हाइड्रोपावरको कार्यालय, बिगु गाउँपालिका–८ तथा नेपाल बैंक लिमिटेड, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक को सिङगटी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर आवेदन फाराम प्राप्त गर्न २ रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

Online Arthik









