नेपाल राष्ट्र बैंक ले बुधबार बजारबाट थप ३० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। बैंकिङ प्रणालीमा नगद प्रवाह बढ्दै गएपछि तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रूपमा निक्षेप संकलन गर्न लागेको हो। यसअघि फागुन १९ गते एक खर्ब रुपैयाँ तानेको राष्ट्र बैंकले पुनः २८ दिनका लागि ३० अर्ब रुपैयाँ निक्षेप उठाउन लागेको हो।
राष्ट्र बैंकले विभिन्न विशेषता तथा शर्तहरू कायम गर्दै निक्षेप संकलनको बोलकबोलमार्फत निष्कासन गर्ने जनाएको छ। निक्षेप संकलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी चैत २५ गते गरिने बताइएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन्। बोलकबोल प्रक्रिया अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ।

Online Arthik









