युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले नेपालमा याङ्गो राइड सँग साझेदारी गर्दै आफ्ना पार्टनर चालक, कुरीयर र यात्रुहरूका लागि निःशुल्क बीमा सुविधा सुरु गरेको छ। यस पहलले शहरी यातायातमा सुरक्षा सुनिश्चित गर्ने कम्पनीहरूको प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।

यो बीमा सुविधा मार्च ३, २०२६ देखि याङ्गोमार्फत गरिने प्रत्येक राइडमा स्वचालित रूपमा समावेश हुने छ। कम्पनीका अनुसार प्रति राइड अधिकतम १० लाख रुपैयाँसम्मको बीमा कभरेज उपलब्ध हुनेछ। चालकहरू राइड स्वीकार गरेको क्षणदेखि बीमा लागू हुनेछ भने यात्रुहरूका लागि पिकअपदेखि ड्रपसम्म कभरेज रहनेछ। साथै, डेलिभरी अर्डर पूरा गरिरहेका कुरीयर पार्टनरहरूमा पनि यो सुविधा लागू हुनेछ।

दुर्घटना भएमा ३० दिनभित्र आवश्यक कागजातहरू (जस्तै: मेडिकल रिपोर्ट, बिल, र सडक दुर्घटनामा प्रहरी प्रतिवेदन) सहित युनाइटेड अजोड इन्स्योरेन्समा दाबी पेश गर्न सकिनेछ। सबै कागजात प्रमाणित भएपछि करिब १५ कार्य दिनभित्र भुक्तानी गरिने कम्पनीले जनाएको छ। यो सुविधा याङ्गोका प्रयोगकर्ता, पार्टनर चालक र कुरीयरहरूलाई कुनै अतिरिक्त शुल्क नलिई प्रदान गरिएको छ, जसले सबैलाई आर्थिक भार बिना अतिरिक्त सुरक्षा उपलब्ध गराउँछ। नेपालमा तीव्र रूपमा बढिरहेको राइड–हेलिङ बजारमा सुरक्षा र विश्वसनीयता महत्वपूर्ण बनेको अवस्थामा, यस बीमा कार्यक्रमले याङ्गो राइडलाई नेपालको यातायात क्षेत्रमा अझ विश्वसनीय सेवा प्रदायकको रूपमा सुदृढ बनाएको छ।

तपाईको प्रतिक्रिया