स्नो रिभर्स लिमिटेडले चैत ९ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी सेयर बिक्री गर्न लागेको हो। कम्पनीको जारी पुँजी ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ, जसको २० प्रतिशत अर्थात् १८ करोड ७५ लाख रुपैयाँ बराबरको १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन गरिनेछ। यसमध्ये १० प्रतिशत अर्थात् ९ लाख ३७ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
स्थानीयका लागि छुट्याइएको सेयरमध्ये अत्यधिक प्रभावित क्षेत्र सिरिजङ्गा गाउँपालिका-८ का बासिन्दालाई ४ लाख ६८ हजार ७५० कित्ता सेयर दिइनेछ। बाँकी ४ लाख ६८ हजार ७५० कित्ता सेयर सिरिजङ्गा गाउँपालिका–१ देखि ७ सम्म, सिदिङ्वा गाउँपालिका-५ र ६, पाथिभरा याङवारक गाउँपालिका–५ र ६ तथा हिलिहाङ गाउँपालिका–१ का स्थानीय बासिन्दालाई बिक्री गरिने कम्पनीले जनाएको छ।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता सेयर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सुरक्षित गरिएको छ। आवेदन दिँदा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ भने स्थानीय बासिन्दाले अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका स्थानीयले चैत २३ गतेसम्म आवेदन दिन पाउनेछन्। उक्त अवधिमा सेयर पूर्ण रूपमा बिक्री नभएमा आवेदन दिने म्याद २०८३ वैशाख ८ गतेसम्म थप गरिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा चैत १२ गतेदेखि चैत २३ गतेसम्म आवेदन दिन सक्नेछन्।
सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा सानिमा क्यापिटल लिमिटेड ले पाएको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसँगै आयोजनाको कार्यालय याम्फुदिन, नेपाल बैंकको सिरीजङ्गा शाखा, एनएमबि बैंक, सानिमा बैंक र ग्लोबल आइएमई बैंकको फुङलिङ शाखाबाट आवेदन दिन सक्नेछन् ।
त्यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत तथा मेरो सेयर प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन्।

Online Arthik









