सुर्खेतस्थित प्रदेश अस्पताल सुर्खेत मा सञ्चालन गरिएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १९४ जना बिरामीले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन्। नबिल बैंक लिमिटेड र अस्पतालको संयुक्त आयोजनामा तथा फेक्ट नेपाल को प्राविधिक सहयोगमा गत चैत २७ गतेदेखि तीन दिनसम्म शिविर सञ्चालन गरिएको हो। शिविरमा आएका ३९ जना बिरामीको वरिष्ठ चिकित्सकद्वारा शल्यक्रिया गरिएको थियो भने जटिल अवस्थामा रहेका एक बिरामीलाई कीर्तिपुर अस्पताल रिफर गरिएको बैंकले जनाएको छ।

शिविरमा विशेषगरी आर्थिक अवस्था कमजोर भएका र लामो समयदेखि उपचारको प्रतीक्षामा रहेका जलनपीडितलाई लक्षित गरिएको थियो। सिन्जा गाउँपालिका–५ की सम्झना रोकायाले शल्यक्रियापछि आफ्नो हात चल्न थालेको र अब दैनिक काम आफैं गर्न सक्ने विश्वास बढेको बताइन्।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली ले कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी यस्तो शिविर आयोजना गरिएको उल्लेख गर्दै आगामी दिनमा लुम्बिनी र मधेश प्रदेशमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिए। यस शिविरमा डा. शंकरमान राई सहितका विशेषज्ञ चिकित्सकको टोलीले शल्यक्रिया तथा उपचार सेवा प्रदान गरेका थिए।

शिविर सञ्चालनअघि कर्णालीका विभिन्न जिल्लाका १६ स्थानमा स्क्रिनिङ क्याम्प राखेर बिरामी पहिचान गरिएको थियो। अस्पतालका निर्देशक डा. गणेश थापाले यस्ता कार्यक्रमले उपचार नपाएका बिरामीलाई ठूलो राहत पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन्। यसअघि पनि नबिल बैंकले सुदूरपश्चिम प्रदेशको धनगढीमा निःशुल्क जलन शिविर सञ्चालन गरी ६५ जना बिरामीलाई सेवा प्रदान गरेको थियो।

तपाईको प्रतिक्रिया