काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुमवासी बस्तीमा अहिले तनावपूर्ण अवस्था देखिएको छ। सरकारले बस्ती हटाउने तयारी अघि बढाएपछि त्यहाँ बसोबास गर्दै आएका परिवारहरू घर खाली गर्न बाध्य भइरहेका छन्।

प्रहरीले विहीबार साँझ माइकिङ गरेर बस्ती छाड्न सूचना दिएपछि आज बिहानदेखि स्थानीयहरूले आफ्ना सामान सार्न थालेका छन्। केहीले आफैं बोकेर सामान सारिरहेका छन् भने केहीले गाडी प्रयोग गरेका छन्। प्रधानमन्त्री बालेन शाहको निर्देशनपछि प्रशासन सक्रिय बनेको हो। गृहमन्त्री सुदन गुरुङको राजीनामापछि सुरक्षा निकायलाई सुकुमवासी बस्ती खाली गराउन स्पष्ट निर्देशन दिइएको थियो। त्यसकै आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बस्ती हटाउने निर्णय गरेको हो। बैठकमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलसहित सुरक्षा अधिकारीहरूको उपस्थिति थियो। प्रशासनले पहिलो चरणमा थापाथलीसहित काठमाडौंका चार सुकुमवासी बस्तीमा डोजर चलाउने तयारी गरेको जनाएको छ। यसले गर्दा स्थानीयहरूमा त्रास फैलिएको छ।

यद्यपि, सबैजना बस्ती खाली गर्ने पक्षमा छैनन्। केही व्यक्तिहरूले सरकारको निर्णयको विरोध गर्दै बस्ती नछाड्न आग्रह गरिरहेका छन्। यसले आगामी दिनमा त्यहाँ थप विवाद र झडपको सम्भावना पनि देखिएको छ।

तपाईको प्रतिक्रिया