सानिमा जिआईसी इन्स्योरेन्स ले लाभांश प्रस्ताव पारित गर्न आठौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनी सञ्चालक समितिको वैशाख १० गते बसेको बैठकले जेठ ६ गते बिहान ११ बजे नेपाल पुलिस क्लब मा सभा आयोजना गर्ने निर्णय गरेको हो।
सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँको ५ प्रतिशतका दरले १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ५६ लाख ५७ हजार रुपैयाँ नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ। यसका साथै, गत आर्थिक वर्षमा भएको खर्चको अनुमोदन, सातौं साधारण सभाबाट पारित १७ प्रतिशत हकप्रद सेयरअनुसार जारी हुने ३६ लाख ५५ हजार कित्ता सेयर समावेश गरी पूँजी संरचना पुनरावलोकन गर्ने कार्यसूची पनि रहेको छ।
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने तथा चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत प्रस्तुत गरिनेछ।

Online Arthik









