नेपाल सरकार ले संघीय निजामती सेवा सम्बन्धी विधेयकको मस्यौदामार्फत कर्मचारीका दुई सन्तानलाई स्नातक तहसम्म अध्ययन गराउन शैक्षिक बीमा योजना लागू गर्ने प्रस्ताव गरेको छ। प्रस्तावअनुसार कर्मचारीका अधिकतम दुई सन्तानको पढाइ खर्च बीमामार्फत व्यवस्थापन गरिनेछ।
मस्यौदामा निजामती कर्मचारीका लागि दुर्घटना बीमा, चाडपर्व खर्चस्वरूप एक महिनाको तलब, तथा मासिक तलबको १० प्रतिशत कट्टा गरी त्यसमाथि सरकारले शतप्रतिशत थप गरेर कर्मचारी सञ्चय कोष मा जम्मा गर्ने व्यवस्था पनि समेटिएको छ। साथै, योगदानमा आधारित सावधिक जीवन बीमा कोष स्थापना गर्ने प्रस्ताव गरिएको छ। स्वास्थ्यतर्फ, कर्मचारी र परिवारलाई स्वास्थ्य बीमा बोर्ड सँग आबद्ध गराई उपचार खर्चको सुविधा दिने, बाँकी उपचार रकम एकमुष्ट लिन पाउने र सरकारी कामका क्रममा घाइते भएमा सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यस्तै, सस्तो ब्याजदरमा आवास ऋण, उच्च तहका कर्मचारीलाई सवारी सुविधा तथा सेवाकालमै मृत्यु भएमा परिवारलाई एकमुष्ट आर्थिक सहयोग दिने प्रावधान पनि मस्यौदामा समावेश गरिएको छ।

Online Arthik










