ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै यस अवधिमा चार अर्ब ४० करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २.९३ प्रतिशतले कम हो। गत वर्ष बैंकले चार अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यसपटक नाफा घट्नुको मुख्य कारण ब्याज आम्दानीमा कमी, सञ्चालन मुनाफामा गिरावट तथा इम्पेरिमेन्ट चार्जमा वृद्धि हुनु रहेको छ। बैंकको खुद ब्याज आम्दानी ३.९१ प्रतिशतले घटेर ११ अर्ब ८८ करोड ४४ लाख रुपैयाँमा झरेको छ भने खुद फि तथा कमिसन आम्दानी १२.७७ प्रतिशतले बढेर दुई अर्ब ६० करोड ७१ लाख रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी भने ३.१३ प्रतिशतले बढेर १६ अर्ब २ करोड ७७ लाख रुपैयाँ पुगे पनि सञ्चालन मुनाफा ६.८१ प्रतिशतले घटेर पाँच अर्ब ९० करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ। इम्पेरिमेन्ट चार्ज पनि बढेर तीन अर्ब ९१ करोड ३८ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा थप दबाब सिर्जना गरेको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा तीन अर्ब ५४ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर आम्दानी १५.४० रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७८.५३ रुपैयाँ र मूल्य–आम्दानी अनुपात १५.४६ गुणा रहेको छ भने खराब कर्जा अनुपात सामान्य घटेर ४.९७ प्रतिशतमा झरेको छ। साथै, बैंकले ६ खर्ब २६ अर्ब ३२ लाख रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ३९ अर्ब ४ करोड ४८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जबकि चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ र जगेडा कोषमा २६ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ सञ्चिति रहेको छ।

Online Arthik










