नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घ रावलले केन्द्रीय बैंकमा २० वर्षे सेवा अवधि पूरा गर्नु केवल समयको यात्रा नभई अनुभव, सिकाइ र जिम्मेवारीले भरिएको गौरवपूर्ण अध्याय भएको बताएका छन्। वि.सं. २०६२ माघ २ गते सहायक निर्देशक तहमा खुला प्रतिस्पर्धाबाट प्रवेश गरेको ‘टिम १७’ का सदस्यहरूले दुई दशक सेवा पूरा गर्दै दीर्घ सेवा पदक ग्रहण गरेका हुन्। पदक प्राप्तपछि रावलले प्रारम्भिक उत्साह, जिज्ञासा र राष्ट्र सेवाप्रतिको प्रतिबद्धता अझै कायम रहेको उल्लेख गर्दै यस अवधिमा बैंकिङ क्षेत्रमा मौद्रिक नीति, वित्तीय सुधार, डिजिटल भुक्तानी प्रणाली र नियामकीय संरचनामा उल्लेखनीय परिवर्तन आएको बताए। उनले कागजमा आधारित प्रणालीबाट पूर्ण डिजिटल क्लियरिङसम्मको यात्रा ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे। साथै, दुई दशकको अवधिमा राजनीतिक परिवर्तन, आर्थिक उतारचढाव, भूकम्प र कोभिड–१९ महामारीजस्ता चुनौतीबीच पनि संस्थागत स्थायित्व कायम राख्न आफूहरूले योगदान दिएको उनको भनाइ छ। राष्ट्र बैंकले आफ्नो ७१औँ वार्षिकोत्सवको अवसरमा डेपुटी गभर्नर किरण पण्डितसहित कार्यकारी निर्देशकहरू डा. सत्येन्द्र तिमिल्सिना, दीर्घ रावल र अनुज दहाललगायत १७ जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मान गरेको हो।

तपाईको प्रतिक्रिया