चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै रु ४ अर्ब २ करोडभन्दा बढी मूल्यका विद्युतीय सवारीसाधन आयात भएका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु २ अर्ब ३७ करोड अर्थात् १४३.६० प्रतिशतले बढी हो। यस अवधिमा १५ हजार २७१ वटा विभिन्न प्रकारका विद्युतीय सवारीसाधन आयात गरिएका छन्। विशेषगरी ५१ देखि १०० किलोवाट क्षमताका ६५७ वटा विद्युतीय कार, जीप र भ्यान रु १ अर्ब ८७ करोड मूल्यमा आयात हुँदा रु १ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ। त्यस्तै, ८ हजार ८६७ वटा विद्युतीय मोटरसाइकल तथा स्कुटर रु १ अर्ब १७ करोड मूल्यमा आयात भएका छन्, जसबाट रु ३८ करोड ५५ लाख राजस्व प्राप्त भएको छ। समग्रमा वीरगञ्ज नाका हुँदै चालु आवको १० महिनामा रु ३१ अर्ब ३१ करोड मूल्यका इन्धन तथा विद्युतीय सवारीसाधन र तिनका पार्टपुर्जा आयात भएका छन्, जुन गत वर्षको तुलनामा ४४.५८ प्रतिशतले बढी हो। यस अवधिमा ६२८ वटा जीप, कार र भ्यान तथा ५१ हजार ४२३ वटा नन-असेम्बल्ड मोटरसाइकल पनि आयात भएका छन्। तथ्याङ्कले नेपालमा विद्युतीय सवारीसाधनको माग र प्रयोग तीव्र रूपमा बढ्दै गएको तथा त्यसबाट राजस्व सङ्कलनमा समेत उल्लेखनीय वृद्धि भएको देखाउँछ।

तपाईको प्रतिक्रिया