नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा वार्षिक राजस्व लक्ष्यको ६८.२ प्रतिशत मात्र संकलन गरेको छ। कार्यालयका अनुसार चालु आवका लागि २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा वैशाख मसान्तसम्म १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रुपैयाँ राजस्व असुली भएको छ।

वार्षिक लक्ष्य पूरा गर्न अब बाँकी दुई महिनामा करिब ३२ प्रतिशत राजस्व संकलन गर्नुपर्ने भएकाले कार्यालयमाथि लक्ष्य हासिल गर्ने चुनौती थपिएको छ।कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा हालसम्म कुनै पनि महिनामा निर्धारित लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको छैन। साउनदेखि माघसम्म क्रमशः ७४.१४, ६९.७७, ८७.८३, ७२.३०, ८३.४५, ८३.२८ र ८८.२४ प्रतिशत राजस्व उठेको थियो। फागुनमा ८८.३२ प्रतिशत, चैतमा ९८.३७ प्रतिशत तथा वैशाखमा ८५.३८ प्रतिशत राजस्व संकलन भएको कार्यालयले जनाएको छ।नेपाल–भारत सीमास्थित जमुनाहा एकीकृत चेक पोस्टमा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात–निर्यात गतिविधि बढ्ने र त्यसबाट भन्सार राजस्वमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको थियो। तर पछिल्ला केही वर्षयता लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको अवस्था देखिएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा नेपालगन्ज भन्सार कार्यालयले वार्षिक लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो। त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३.३५ प्रतिशत मात्र राजस्व उठेको थियो। पछिल्ला वर्षहरूको तथ्यांकले राजस्व संकलनमा सुधार देखिए पनि लक्ष्य प्राप्ति अझै चुनौतीपूर्ण रहेको संकेत गरेको छ।

तपाईको प्रतिक्रिया