स्थानीय बजारमा सुनको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेर ३ लाख ८ सय रुपैयाँमा कायम भएको छ। यसअघि गत शुक्रबार पनि सुनको मूल्य २ हजार १ सय रुपैयाँले घट्दै प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा झरेको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ४ हजार ८९५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो कारोबार दिनको तुलनामा ३३५ रुपैयाँ कम हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र गिरावटको प्रभाव नेपाली बजारमा समेत परेको महासंघले जनाएको छ। पछिल्लो अन्तर्राष्ट्रिय कारोबारमा सुनको मूल्य ३.३२ प्रतिशत अर्थात् १४८.६६ डलरले घटेर प्रतिऔंस ४ हजार ३२८ डलरमा झरेको छ, जुन मार्चयताकै न्यून स्तर मानिएको छ। अमेरिकी श्रम विभागले मे महिनामा गैर–कृषि क्षेत्रमा १ लाख ७२ हजार रोजगारी थपिएको तथ्यांक सार्वजनिक गरेपछि सुनको मूल्यमा दबाब परेको हो। यो वृद्धि बजारको अनुमानभन्दा निकै उच्च रहेकाले अमेरिकी अर्थतन्त्र मजबुत रहेको संकेत मिलेको विश्लेषकहरूको भनाइ छ। यसले अमेरिकी फेडरल रिजर्भले निकट भविष्यमा ब्याजदर घटाउने सम्भावना कमजोर बनाएको छ। ब्याजदर लामो समय उच्च रहने अपेक्षासँगै अमेरिकी ट्रेजरी बन्डको प्रतिफल बढ्दा सुनमा लगानीको आकर्षण घटेको र लगानीकर्ताले नाफा सुरक्षित गर्न सुन बिक्री बढाएको कारण मूल्य ओरालो लागेको विश्लेषण गरिएको छ।

Online Arthik









