नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११औँ वार्षिक साधारण सभा असार २२ गते आयोजना गर्ने भएको छ। जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले धादिङको नौबिसेस्थित नौबिसे एग्रो रिसोर्टमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो।

सभामा संस्थाको सेयर संरचना परिवर्तन गर्ने तथा उपयुक्त लघुवित्त वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति (एक्विजिसन) सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पेश गरिनेछ। साथै, यस सम्बन्धमा नियामक निकायबाट आवश्यक सुझाव वा निर्देशन प्राप्त भएमा प्रचलित कानुनअनुसार प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, परिमार्जन वा समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव पनि पारित गरिनेछ।त्यसैगरी, सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्नेछ। लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित वित्तीय विवरणहरू पनि सभाबाट पारित गरिने कार्यक्रम छ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाले टुंगो लगाउनेछ।सभा मार्फत समूह ‘क’ अन्तर्गतका संस्थापक सेयरधनीहरूबाट चार जना सञ्चालकको निर्वाचन गरिनेछ भने समूह ‘ख’ अन्तर्गतका सर्वसाधारण सेयरधनीहरूबाट रिक्त रहेको एक जना सञ्चालक पदमा बाँकी कार्यकालका लागि निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ।

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले असार ११ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार असार १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्रै सभामा सहभागी हुन योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया