नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन हुँदैछ। राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख प्रवेशमार्गमा निर्माण गरिएको यो सुरुङमार्गलाई नेपालको सडक पूर्वाधार विकासको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको संयुक्त लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ। सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङमार्गको मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ। अत्याधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको यो सुरुङ सञ्चालनमा आएपछि नागढुङ्गा क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको सवारी जाममा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ।सुरुङमार्गले काठमाडौं–तराई आवागमनलाई थप सुरक्षित, सहज र छिटो बनाउनुका साथै राजधानी प्रवेश गर्ने प्रमुख नाकामध्ये एक नागढुङ्गा खण्डमा यात्रा समय घटाउने विश्वास गरिएको छ। साथै इन्धन खपत, सवारी सञ्चालन खर्च र वायु प्रदूषणसमेत कम हुने अपेक्षा गरिएको छ।
विशेषगरी मालवाहक तथा लामो दूरीका सार्वजनिक र निजी सवारीसाधनलाई यस सुरुङमार्गबाट प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ। नेपालको सडक यातायात पूर्वाधारमा नयाँ अध्यायको रूपमा हेरिएको यो आयोजना मुलुकको आर्थिक तथा यातायात प्रणालीलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

Online Arthik










