नेपालकै पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला (नागढुङ्गा–नौबिसे) सुरुङमार्ग आज (सोमबार)देखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। २ हजार ६८८ मिटर लम्बाइको यो सुरुङमार्ग भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल र जापान सहयोग नियोग (जाइका)का प्रमुखको उपस्थितिमा उद्घाटन गरिएको हो। निर्माणमा भएको ढिलाइपछि सञ्चालनमा आएको सुरुङमार्ग २४सै घण्टा खुला रहनेछ भने टोल शुल्क नगद, क्यूआर कोड वा स्टिकर स्क्यानमार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। पाँच वर्षका लागि यसको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी युसिन एआरटी कम्पनीले पाएको छ। दैनिक करिब ८ हजारभन्दा बढी चारपाङ्ग्रे तथा ठूला सवारीमध्ये करिब ६० प्रतिशतले यो सुरुङमार्ग प्रयोग गर्ने अनुमान गरिएको छ भने दुईपाङ्ग्रे सवारीलाई प्रवेश अनुमति दिइने छैन। सरकारले निर्धारण गरेको टोल शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर र माइक्रोबसका लागि काठमाडौं प्रवेश गर्दा रु. ६५ र बाहिरिँदा रु. ६०, मिनीबस तथा मिनी ट्रकका लागि रु. १२५/८०, बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि रु. २६०/२०० र मल्टिएक्सल ट्रक तथा भारी उपकरणका लागि रु. ६००/२५० शुल्क तोकिएको छ। सुरुङमार्ग सञ्चालनसँगै काठमाडौं–नौबिसे सडकखण्डको यात्रा समय घट्नुका साथै ट्राफिक जाम कम हुने अपेक्षा गरिएको छ।

Online Arthik










