रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित होटल तथा रेस्टुरेन्ट व्यवसायको तत्काल राहत, पुनःस्थापना, पुनरुत्थान तथा पर्यटन प्रवद्र्धनका लागि होटल व्यवसायी महासंघ, नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।
महासंघका अध्यक्ष टी.आर. भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार पर्यटनमन्त्रीलाई प्रत्यक्ष भेट गरी प्रभावित व्यवसायीहरूले भोगिरहेको आर्थिक तथा भौतिक संकट र राज्यबाट आवश्यक सहयोगबारे ध्यानाकर्षण गराएको हो। प्रतिनिधिमण्डलमा महासंघका केन्द्रीय तथा बागमती प्रदेशका प्रतिनिधि, स्थानीय होटल व्यवसायी तथा प्रभावित परिवारका प्रतिनिधिसमेत सहभागी थिए।ज्ञापनपत्रमा रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत प्रभावित क्षेत्रमा होटल तथा रेस्टुरेन्टका भवन, संरचना, फर्निचर, भान्साका उपकरण, विद्युतीय सामग्री, मेसिनरी, खाद्यान्न तथा अन्य व्यावसायिक सामग्रीमा भएको क्षतिको विस्तृत मूल्याङ्कन गरी आधिकारिक अभिलेख तयार गर्न माग गरिएको छ। साथै सहुलियतपूर्ण पुनर्कर्जा, ब्याजमा विशेष अनुदान, बैंक ऋणको रिसेडुलिङ तथा रिस्टक्चरिङ, पूर्ण क्षति भएका व्यवसायीका लागि विशेष ऋण राहत, रोजगारी पुनःस्थापना, विस्थापित व्यवसायीलाई सुरक्षित स्थानमा दीर्घकालीन लिज, बीमा दाबीको फास्ट–ट्र्याक व्यवस्था तथा कर र नवीकरण शुल्कमा छुट दिनुपर्ने माग महासंघले गरेको छ। व्यवसाय सञ्चालन ठप्प हुँदा पनि बैंकको साँवा–ब्याज, घरभाडा, कर्मचारी खर्च, करलगायतका दायित्व निरन्तर रहेकाले प्रभावित व्यवसायी थप आर्थिक संकटमा परेको महासंघको भनाइ छ। त्यसैले तत्कालीन राहतसँगै व्यवसायलाई पुनः सञ्चालनमा ल्याउने र स्थानीय पर्यटन अर्थतन्त्रलाई पुनर्जीवित गर्ने रिकभरी, रिह्याबिलिटेसन र पुनरुत्थान केन्द्रित विशेष कार्यक्रम आवश्यक रहेको महासंघले जनाएको छ।
यसैगरी, रसुवाको गोसाइँकुण्ड, लाङटाङ, चीनसँग जोडिएको अन्तर्राष्ट्रिय नाका तथा भविष्यमा विकसित हुन सक्ने कैलाश–मानसरोवर पर्यटनको सम्भावनालाई ध्यानमा राख्दै ‘रसुवा पर्यटन पुनरुत्थान तथा प्रवद्र्धन विशेष कार्यक्रम’ सञ्चालन गर्नसमेत महासंघले सरकारसँग माग गरेको छ।

Online Arthik










