नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी खोला पुल नजिकै सडकमा माथिबाट स–साना ढुंगा खसेका छन्। बिहीबार बिहान पुल नजिकैको ढिकबाट ढुंगा खसेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

कार्यालयका अनुसार बिहान ९ः३५ बजे सडकमा खसेका ढुंगा पन्छाउने तयारी भइरहेको थियो। स–साना ढुंगा मात्रै खसेकाले हटाएपछि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन धेरै समय नलाग्ने कार्यालयले जनाएको छ।

ढुंगा खसेपछि पुरानो सडक प्रभावित भए पनि सोही स्थानमा निर्माण गरिएको नयाँ पुलबाट सवारीसाधनको आवागमन भने नियमित भइरहेको छ। त्यसैले यात्रुहरू बीच बाटोमै रोकिनुपर्ने अवस्था नरहेको कार्यालयले स्पष्ट पारेको छ।

तर सडकको माथिल्लो भागबाट थप ढुंगा खस्ने जोखिम रहेकाले उक्त सडकखण्ड प्रयोग गर्ने चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउन सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया