नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घ तथा त्यससँग आबद्ध निर्जीवन बीमा कम्पनीहरूले बाढीप्रभावित नागरिकको राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि ३ करोड ४७ लाख रुपैयाँ सहयोग गरेका छन्। गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सङ्घले उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो।

सङ्घका अध्यक्ष मनोहर दास मुलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मङ्गलवार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी सहयोग रकम हस्तान्तरण गरेको छ। उक्त सहयोग रकममा सिद्धार्थ प्रिमियर, सगरमाथा लुम्बिनी, नेपाल इन्स्योरेन्स, नेको, प्रभु, युनाइटेड अजोड, सानिमा जिआइसी र हिमालयन एभरेस्ट इन्स्योरेन्स लगायतका कम्पनीहरूको योगदान रहेको छ। नगद सहयोगका साथै सगरमाथा लुम्बिनी, हिमालयन एभरेस्ट र युनाइटेड अजोड इन्स्योरेन्सका कर्मचारीहरूले सङ्कलन गरेको २६ लाख २३ हजार १८ रुपैयाँ पनि अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको छ। यसअघि एनएलजी र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले सहयोग रकम हस्तान्तरण गरिसकेका छन् भने अन्य कम्पनीहरू पनि सहयोग प्रक्रियामा रहेका छन्।बैठकले विपद्‌मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ। बाढीका कारण क्षति भएका आयोजना, पूर्वाधार र जनधनको विवरण प्राप्त हुनासाथ बीमा दाबी भुक्तानीको कार्यलाई उच्च प्राथमिकतामा राखेर भुक्तानी गरिने प्रतिबद्धतासमेत सङ्घले जनाएको छ।

रकम हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश सङ्कटमा परेको बेला निर्जीवन बीमा कम्पनीहरूले पुर्‍याएको सहयोगप्रति धन्यवाद ज्ञापन गरेका छन्। यस्तै अहोरात्र खटिने उद्धारकर्मी, सुरक्षा निकाय र नागरिक समाजप्रति पनि सङ्घले आभार व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया