पाल्पामा पछिल्लो दुई महिनामा २५५ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ। चालु आर्थिक वर्ष २०८३/०८४ को साउन र भदौ महिनामै ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि जिल्लामा डेंगीको जोखिम उच्च रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
स्वास्थ्य कार्यालयका अनुसार विगतका वर्षहरूमा पनि पाल्पामा डेंगी सङ्क्रमण उतारचढावपूर्ण देखिएको थियो। आर्थिक वर्ष २०८२/०८३ मा ४३२, २०८१/०८२ मा ५१०, २०८०/०८१ मा ६८६, २०७९/०८० मा २५० र २०७८/०७९ मा २४ जनामा डेंगी पुष्टि भएको थियो। पछिल्लो समय परीक्षणको दायरा बढ्नुका साथै जलवायु परिवर्तनका कारण डेंगी फैलाउने लामखुट्टेका लागि अनुकूल वातावरण बनेकाले सङ्क्रमण बढेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेजलगायत स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीमा डेंगी पुष्टि भएको छ। वर्षायाममा घरआँगन तथा सार्वजनिक स्थानमा पानी जम्दा डेंगी सार्ने एडिज जातको लामखुट्टेको प्रजनन बढ्ने भएकाले जोखिम थप बढेको हो।
सङ्क्रमितको सङ्ख्या बढेपछि स्वास्थ्य कार्यालय पाल्पाले डेंगी रोकथाम तथा नियन्त्रणका लागि सचेतना र अभिमुखीकरण कार्यक्रमलाई तीव्रता दिएको छ। घरआँगनदेखि सार्वजनिक स्थानसम्म सरसफाइमा विशेष ध्यान दिन तथा पानी जम्ने स्थान हटाउन आग्रह गरिएको छ।
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख गौरव ढकालले घर, कार्यालय, विद्यालय तथा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन, खाल्डाखुल्डी पुर्न र गमलाका प्लेट, फुलदानी तथा कुलरको पानी कम्तीमा सातामा एकपटक फेर्न आग्रह गरेका छन्। साथै खानेपानी वा ढल चुहावट भए तत्काल मर्मत गर्न तथा लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका कपडा लगाउने, झुलभित्र सुत्ने र झ्यालढोकामा जाली प्रयोग गर्न सुझाव दिइएको छ।

Online Arthik










