बाढीपीडितको राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ। केन्द्रले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो।

केन्द्रका तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी थिइन्। यसैबीच, भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा ब्रह्माकुमारी नेपालले श्रद्धाञ्जली कार्यक्रमसमेत आयोजना गरेको थियो। ललितपुरको सातदोबाटोस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय स्विमिङ कम्प्लेक्समा आयोजित कार्यक्रममा एक हजारभन्दा बढी राजयोगी तपस्वी सहभागी भएका थिए।

कार्यक्रममा सहभागीहरूले योग–तपस्या, मौनधारण तथा दीप प्रज्वलन गर्दै दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवारको शान्ति र धैर्यका लागि प्रार्थना गरेका थिए। भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

तपाईको प्रतिक्रिया