हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी हुने सेयरमध्ये १६ लाख ९० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि छुट्याइएको छ। यसमध्ये १० लाख १४ हजार कित्ता दोलखाको बिगु गाउँपालिका वडा नं. ५, ६, ७ र ८ तथा कालिञ्चोक गाउँपालिका वडा नं. २, ३ र ४ का अतिप्रभावित क्षेत्रका बासिन्दाका लागि र बाँकी ६ लाख ७६ हजार कित्ता दुवै गाउँपालिकाका अन्य वडाका स्थानीयका लागि निष्कासन गरिनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको ४ लाख २२ हजार ५०० कित्ता सेयर छुट्याइएको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित स्थानीयले छिटोमा कात्तिक २५ गते र ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन पाउनेछन्। स्थानीय बासिन्दाले नेपाल इन्भेस्टमेन्ट बैंक, सिन्धु विकास बैंक, प्रभु बैंकको सिंगटी शाखा, लक्ष्मी सनराइज बैंकको सुनखानी एक्सटेन्सन काउन्टर तथा सिटिजन्स बैंकको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ।

Online Arthik










