लुम्बिनी विकास बैंकले यस आ.ब.को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशित गरेका वित्तीय विवरण अनुसार खुद नाफामा १ करोड ४९ लाख ५९ हजार रुपैयाँले खुद नाफा वृद्धि गरेको जनाएको छ। बैंकको व्यवसायीक प्रगतिबाट प्राप्त हुने खुद आम्दानी घटेपनि खराब कर्जा नोक्सानी वापतको व्यवस्था रकम घट्दा नाफा बढेको हो । यसका अलवा बैंकको अन्य सञ्चालन आम्दानी बढेको छ भने खर्च नियन्त्रित देखिएको छ ।
चालु आवको पहिलो त्रैमासमा बैंकले ११ करोड १७ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको अपरिष्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । गत आवको यसै अवधिमा बैंकले ९ करोड ६७ लाख ६० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।
असोज मसान्तसम्मको वितरणयोग्य नाफा २ करोड ११ लाख ५१ हजार रुपैयाँ छ ।
असोज मसान्तसम्ममा बैंकले २४ करोड ९५ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा १५ करोड ९६ लाख ५० हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । बैंकको खराब कर्जा नोक्सानी वापतको व्यवस्था वापतको रकम गत आवको यसै अवधिको तुलनामा २ करोड ८६ लाख रुपैयाँ कम २ करोड ४२ लाख मात्र व्यवस्था गरेको छ ।
चुक्ता पूँजी २ अर्ब ७१ करोड ६३ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४५ पैसा कायम भएको छ। बैंकको जगेडा कोषमा १ अर्ब ४४ करोड ५८ लाख रुपैयाँ छ जुन गत आवको तुलनामा ९।५६ प्रतिशतले धेरै हो । यस्तै बैंकको शेयरधनी कोष गत आवको तुलनामा ११।१८ प्रतिशतले बढेर २१ करोड ३ लाख पुगेको छ ।
पहिलो त्रैमासमा बैंकले ३२ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ४५ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको बचत संकलन १५।६४ प्रतिशतले बढ्दा कर्जा लगानी ५ प्रतिशतले बढेको छ ।
असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६०।९८ रुपैयाँ, निष्क्रिय कर्जा अनुपात २।३६ प्रतिशत, आधार ब्याजदर ९।६५ प्रतिशत र स्प्रेड रेट ५।१४ प्रतिशत छ । यस्तै पूँजीकोष अनुपात १२।६८ प्रतिशत, कर्जा निक्षेप अनुपात ७३।१३ प्रतिशत, र मूल्य आम्दानी अनुपात १३।१९ गुणा छ ।

Online Arthik










