प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि सर्वसाधरणको लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (पुस २ गते) अन्तिम दिन हो। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६० लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बुधबार ४ः४० बजेसम्ममा ८ लाख ७३ हजार ७९ आवेदकबाट २ करोड ३७ लाख ७६ हजार ४६० कित्ता शेयरका लागि आवेदन परेको छ।
यो कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको ५४ लाख कित्ताको ४.४ गुणा बढी हो।
इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत पनि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले केयरएनपी–आइआर बीबी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउछ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ। आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।

Online Arthik










