प्रोग्रेशिभ फाइनान्स लिमिटेडले कोभिडका कारण स्थगित आफ्नो २५ औँ वार्षिक साधारणसभा पुनः डोकेको छ। कम्पनी सञ्चालक समितिको फागुन १९ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा ललितपुरको ललितपुर–९ ज्यापू प्रज्ञा भवनमा दिउँसो १ बजेबाट सुरु हुनेछ।
यसअघि कम्पनीले गत पुस ३० गते वार्षिक साधारणसभा डोकेको थियो। तर, कोभिड महामारीका कारण सभा स्थगित गरिएको थियो।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित चुक्तापुँजीको कुल ६.३१५८ प्रतिशतले हुन आउने लाभांश अनुमोदन गर्नेछ। जसमा ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३१५८ प्रतिशत नगद लाभांश छन्।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रक्रियाका लागि गर्नुपर्ने आवश्यक सम्पूर्ण गतिविधि गर्ने पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका सम्पूर्ण दस्तावहरु अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले गत पुस १९ गते नै एक दिन बुक क्लोज गरिसकेको छ। यसको अर्थ गत पुस १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

Online Arthik










