धितोपत्र बोर्डले धितोपत्रको दोस्रो बजार कारोबार पूर्णतया यान्त्रीकरण हुन नसकेको अवस्थामा यस प्रणालीमा सुधार गर्न आवश्यक देखिएको भन्दै बैंक खाता र डिम्याट खातालाई प्रणालीमा नै आवद्ध गरी कारोबार गर्ने व्यवस्था मिलाउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ ।

 

 

 

 

बोर्डले धितोपत्र बिक्रीको भुक्तानी गर्दा अनिवार्य रुपमा आइपिएस वा विद्युतीय माध्यममार्फत गर्नुपर्ने र किन्दा आइपिएस वा विद्युतीय माध्यममार्फत गर्न प्रोत्साहित गर्ने तर आगामी साउन १ गतेदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र रकम प्राप्त गर्ने र भुक्तानी दिने व्यवस्था गरी सो बमोजिम ब्रोकरले खाता अद्यावधिक गर्ने, गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

नेप्से अनलाइन कारोबार प्रणालीले लगानीकर्ताको बैंक खाता तथा डिम्याट खाता आवद्ध गरी स्वचालित कारोबार तथा राफसाफ कार्य गर्न नसकेको गुनासा आइरहेको सन्दर्भमा लगानीकर्ताले गरेको कारोबार स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा सेयर जम्मा र खर्च हुने व्यवस्था गर्नुका साथै स्वचालित रुपमा नै कारोबार भएको दिन बैंक खाताबाट रकम प्राप्त गरी विभिन्न निकायको कमिसन, कर, मूल्य सम्बन्धित निकायको खातामा सोही दिन स्वचालित रुपमा नै जम्मा हुन सक्ने व्यवस्था मिलाउन पनि बोर्डले निर्देशन दिएको बोर्डको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया