लकडाउनका कारण दुग्ध पदार्थको बिक्री घटेपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘अफर’ योजना ल्याउने तयारी गरेको छ ।

उपभोक्ताले एक किलो चिज, धुलो दूध वा बटर किन्दा अर्को एक किलो सित्तैमा वा दुई किलोमा थप एककिलो सित्तैमा पाउने योजना घोषणा गर्न छलफल थालेको मन्त्रालयले जनाएको छ ।

दुग्ध पदार्थ उत्पादन गर्ने गोदाममा थन्किएका झण्डै सातहजार टन धुलो दूध, चिज र बटर बिक्रीका लागि गरिएको विभिन्न प्रयास असफल भएपछि निजी क्षेत्रका व्यवसायीसँग तेस्रो विकल्पको रुपमा यो छलफल पनि अघि बढाइएको मन्त्रालयका उपसचिव डा. गंगा आचार्यले बताए ।

बजारमा अहिले साढे तीन हजार टन पाउडर दूध, त्यति नै बटर र ५० करोड रुपैयाँ हाराहारीको चिज स्टकमा छ । तिनको बजार मूल्य साढे चारअर्ब हाराहारी हुने मन्त्रालयको आकलन छ ।

अहिलेको बजार मूल्यअनुसार, बटर प्रतिकिलो ६५०, चिज १२ सय र पाउडर दूध ६०० रुपैयाँ पर्छ । व्यवसायी राजी भए अफरमा सरकारले केही अनुदान दिएर भए पनि सस्तोमा दुग्ध पदार्थ बिक्रीको योजना ल्याउने प्रयास थालिएको उप–सचिव आचार्य बताउँछन् ।

निजी क्षेत्रका दुग्ध व्यवसायी र अर्धसरकारी दुग्ध विकास संस्थान (डीडीसी)को गोदाममा करिब सात हजार टन दुग्ध पदार्थ थन्किएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । अत्यधिक मौज्दात हुँदा उद्योगहरू किसानसँग लिएको दूधको पैसा तिर्न समेत असमर्थ भएको बोर्डका उप–कार्यकारी प्रमुख बाबुकाजी पन्तले बताए ।

दुग्ध पदार्थ बिक्रीका तीन विकल्प

बजार नपाएर मौज्दात बसेको दुग्ध पदार्थ बिक्री गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तीन विकल्पमा छलफल थालेको थियो– पहिलो, स्वदेशमै सुरक्षाकर्मीका लागि बिक्री गर्ने, दोस्रो विदेशी बजार खोज्ने र तेस्रो सस्तोमा नेपालकै बजार पठाउने । यसमध्ये पहिलो विकल्प असफल भइसकेको मन्त्रालयले जनाएको छ ।

नेपाली सेनालगायतका सुरक्षा निकायहरूले दुग्ध पदार्थका लागि टेन्डर गरिसकेका कारण दुग्ध पदार्थ खपतको ठूलो क्षेत्र गुमाउन परेको मन्त्रालयले जनाएको छ ।

विदेशमा बिक्री सम्भावना

नेपाली सुरक्षा निकायहरूलाई दुग्ध पदार्थ बिक्री गर्न नसकेपछि मन्त्रालय र व्यवसायीहरूले पाकिस्तान र बंगलादेशको बजारबारे अध्ययन गरेका थिए ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा भएको अध्ययनमा पाकिस्तान र बंगलादेशमा धुलो दूध प्रतिकिलो बजार मूल्य तीन डलर रहेको तर नेपालमा उत्पादन लागत नै पाँच डलर रहेको पाइएको मन्त्रालयले जनाएको छ ।

‘खेर फाल्नुभन्दा सोही मूल्यमा बिक्री गर्न छलफल थाल्ने बरु व्यवसायीको घाटाको दुई डलरको हिस्साको दायित्व सरकारले आधा ब्यहोर्नेबारे पनि छलफल चल्यो’, उप–सचिव आचार्यले भने, ‘तर निचोड आएको छैन ।’

अनुदानै दिएर विदेश निर्यात गर्न सकिन्छ भने निश्चित अनुदानमा नेपालमै बिक्रीको अफर किन नल्याउने भनेर छलफलअघि बढाएको उनले बताए ।

उपभोग्य मिति घर्किन थाल्यो

दूध कम उत्पादन हुने सिजनमा बिक्री गर्न छ महिना अघिदेखि डीडीसी र निजी क्षेत्रका दुग्ध उद्योगले दुधको धुलो, बटर र चिज बनाएर राख्ने चलन छ । तर यसपटक कोरोनाका कारण जारी लकडाउनले बजारमा ताजा दूधकै खपत घटाइदिएपछि धुलो दुध, बटर र चिज गोदाममा थन्किन पुग्यो ।

करिब छ महिनाअगाडि तयार भएका ठूलो परिमाणका दुग्ध पदार्थको उपभोग्य मिति एक वर्षको मात्रै हुने भएकाले तत्काल बिक्री नभए नष्ट गर्नुपर्ने अवस्था आउने भएकोले व्यवसायीहरू चिन्तित छन् ।

निजी क्षेत्र भन्छ– कार्यान्वयन जटिल छ

सरकारले ल्याएको विकल्पमा पटक–पटक छलफल भए पनि कार्यान्वयन पक्ष जटिल रहेको निजी क्षेत्रका दुग्ध व्यवसायीहरूले बताएका छन् ।

सार्क मुलुकमा बिक्रीका लागि यसअघि पनि पहल गरिएको तर नसकिएको नेपाल डेरी एसोसिएसनका महासचिव प्रल्हाद दाहाल बताउँछन् । ‘अफर’को रुपमा स्वदेशमा बिक्री गर्न सरकारले अनुदान दिए पनि उपभोक्ताले उल्लेख्य मात्रामा खरिद गर्छन् भन्नेमा विश्वास नभएको उनले बताए ।

‘पाँच अर्बको उत्पादन खेर फाल्नुभन्दा अफरमा बिक्री गर्नु बुद्धिमानी हो । तर सस्तो भन्दैमा उपभोक्ताले धेरै दुग्ध पदार्थ खालान् र ?’ दाहाल भन्छन् ।

दुग्ध विकास संस्थान तयार

निश्चित लागत अनुमान गरेर सस्तोमा दुग्ध पदार्थ बिक्रीका लागि आफूहरू तयार रहेको दुग्ध विकास संस्थानले जनाएको छ । महाभूकम्पपछि पनि यस्तो अभ्यास डीडीसीले गरेको र त्यो समयमा सस्तोमा निकै खपत भएको संस्थानको बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाले बताए ।

भूकम्पका कारण पनि क्षति ठूलो भएको थियो । तर त्यतिबेला आपूर्ति शृङ्खला बिग्रिएको थिएन । अहिले आपूर्ति चेन र खपतमा असर परेको झाले बताए । उनका अनुसार, मासिक लाखौं रुपैयाँ भाडा तिरेर दुग्ध पदार्थ मौज्दात राख्नुपर्दा संस्थानको दायित्व पनि बढेको छ ।

तपाईको प्रतिक्रिया