अनलाईन आर्थिक सम्वाददाता/ २७ जेठ, काठमाडौं । अछामको बयलपाटा अस्पतालले सामूहिक अवकास दिएका कर्मचारीमध्ये २५ वर्षीय सिद्धार्थ आउजीले शरीरमा आगो लगाएर आत्मदाह गरे । लकडाउनका बेला जागिर गुमाएका उनले पुनर्वहालीको माग पूरा नभएपछि आफ्नै ज्यान लिएका हुन् ।

आउजीले साथीभाइ र आफन्तसँगको कुराकानीमा लकडाउनका बेला जागिर गएपछि परिवार चलाउन कठिन हुने बताउने गरेका थिए ।

कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका बेला ठूलो संख्याले आफ्नै हत्या गरेका छन् । नेपाल प्रहरी प्रवक्ता डिआईजी निरजबहादुर शाहीका अनुसार, लकडाउन सुरु भएको ११ चैतदेखि १७ जेठसम्मको अवधिमा एक हजार एक सय पाँच जनाले आत्महत्या गरेको तथ्यांक छ ।

यो अवधिमा कोरोनाबाट जम्मा ६ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार सोमबारसम्म कोभिड– १९ बाट देशभरि १४ जनाको ज्यान गएको छ ।

लकडाउनको अवधिमा देशभर दैनिक १६ जनाभन्दा बढीले आत्महत्या गरेको प्रहरीको तथ्यांकले देखाउँछ । ११ चैतदेखि १० जेठसम्म कुल नौ सय ६३ जनाले आत्महत्या गरेकोमा त्यसपछिको एक हप्तामा एक सय ४२ जना अर्थात् दैनिक २० जनाले आत्महत्या गरेको देखिन्छ ।

 

तपाईको प्रतिक्रिया