विश्व महामारी कोरोनाभाइरसका कारण स्थगित बन्न पुगेको लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गर्ने भनिएको १५ करोड रुपैयाँबराबरको आईपीओ बिक्री प्रक्रिया पुनः आज बुधबार (साउन ७ गते) देखि खुला गरिएको छ। लगानीकर्ताले साउन २१ गते बुधबारसम्म यो आईपीओमा खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले १०० रुपैयाँअंकित १५ लाख कित्ता आईपीओ प्रभावित क्षेत्रका बासिन्दाका लागि पुनः बिक्री खुलाएको हो। निष्कासित कुल सेयरमध्ये आयोजनाबाट अतिप्रभावित क्षेत्र लमजुङको दोर्दी गाउँपालिका वडा नं. ६ र ७ का स्थायी बासिन्दाहरुलाई ३३.३ प्रतिशत अर्थात् ५ लाख कित्ता र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेसीसहर नगरपालिका वडा नं. ११ का स्थानीयलाई ३३.३३ प्रतिशत अर्थात् ५ लाख कित्ता बाँडफाँड गरिनेछ। त्यसैगरी लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाहरुका लागि बाँकी ३३.३३ प्रतिशत अर्थात ५ लाख कित्ता सेयर बाँडफाँड गरिनेछ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले गत फागुन २७ गतेदेखि बिक्री खुलाएको आईपीओ छिटोमा चैत ११ गते र ढिलामा चैत २६ गते बन्द हुने भनिएको थियो। तर विश्व महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि नै लकडाउन जारी गरेपछि आईपीओ बिक्री प्रक्रिया स्थगित भएको थियो।
यो आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको देखाउँछ।

Online Arthik










